काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले गोल्छासँग सो रकम धरौटीबापत माग गर्ने आदेश दिएको हो।
उक्त मुद्दाको सिलसिलामा मंगलबार अदालतमा उपस्थित भएका गोल्छाको बकपत्र गराएपछि थुनछेक बहस सुरु भएको थियो। बहस सकिएसँगै अदालतले धरौटी बुझाउन आदेश दिएको हो।
यसअघि पनि काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुर मुद्दामा उहाँसँग एक करोड धरौटी माग गरेको थियो। गत साउन १२ गते काठमाडौँ जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेपछि गोल्छा सो रकम बुझाएर रिहा भएका थिए ।