काठमाडौँ । रेड पाण्डा (हाब्रे) संरक्षण, स्थानीय समुदायको सहभागिता र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेड पाण्डा म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते सोलुखुम्बुको सल्लेरीमा आयोजना हुने भएको छ।
रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा हुन लागेको म्याराथनले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने लक्ष्य राखेको छ। तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा परिचित सल्लेरीमा आयोजना हुने कार्यक्रमले यस क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नसमेत सहयोग पुग्ने आयोजकको विश्वास छ। नेपालमा रेड पाण्डा पाइने तथा संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका विभिन्न क्षेत्रमा म्याराथन आयोजना हुँदै आएको छ। यसको पहिलो संस्करण सन् २०२४ मा ताप्लेजुङ र दोस्रो संस्करण सन् २०२५ मा इलाममा आयोजना भएको थियो। पहिलो दुई संस्करणमा गरी १४० जना धावक सहभागी भएका थिए। उनीहरूले रेड पाण्डा संरक्षणका लागि ट्रेलमा ४२५ घण्टा समय बिताएका थिए। म्याराथनमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र कोरियाबाट समेत धावक सहभागी भएका थिए।
पिके डाँडासम्म ४८ किलोमिटर दौड
यस वर्षको ४८ किलोमिटर लामो म्याराथन सल्लेरीस्थित थेक्छेन पेमा छोलिङ गोन्पाबाट सुरु हुनेछ। २ हजार ३६० मिटर उचाइमा रहेको गोन्पाबाट सुरु हुने दौड ४ हजार ५४ मिटर उचाइको पिके डाँडासम्म पुगेर पुनः सुरुवात बिन्दुतर्फ फर्किनेछ।आईटीआरएमा दर्ता भएको उक्त ट्रेलमा धावकले करिब २ हजार ८७२ मिटरको उचाइ अन्तर पार गर्नुपर्नेछ। त्यसैले यो दौड अनुभवी ट्रेल धावक तथा साहसिक खेलाडीका लागि चुनौतीपूर्ण हुने आयोजकले जनाएको छ। यस दौडबाट तीन आईटीआरए अंक प्राप्त गर्न सकिनेछ। त्यसका लागि धावकले ७ घण्टा ३० मिनेटभित्र निर्धारित दूरी पूरा गर्नुपर्नेछ। म्याराथनका क्रममा धावकहरूले तल्लो सगरमाथा क्षेत्रको हिमाली भू–दृश्य, स्थानीय समुदाय र रेड पाण्डाको बासस्थानसँग जोडिएको प्राकृतिक वातावरणलाई नजिकबाट अनुभव गर्ने अवसर पाउनेछन्।
पहिलोपटक ५ किलोमिटर ‘समुदाय रन’
यस वर्ष सल्लेरीमा पहिलोपटक ५ किलोमिटर लामो ‘रेड पाण्डा समुदाय रन’ पनि आयोजना गरिने भएको छ। तय गरिएको रुटअनुसार दौड थेक्छेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर सेर्गाखोप, पोङ् डाँडा, फाप्लु र ठूलोघर हुँदै पुनः थेक्छेन पेमा छोलिङ गुम्बामै पुगेर टुंगिनेछ। मुख्य म्याराथनको तुलनामा यो दौड सहज हुने भएकाले सुरुवाती धावकदेखि सबै उमेर र क्षमताका व्यक्तिले सहभागी हुन सक्नेछन्। आयोजकले स्थानीय सहभागितालाई विशेष प्राथमिकता दिएको जनाएको छ। ४८ किलोमिटरको चुनौतीपूर्ण म्याराथनसँगै ५ किलोमिटरको दौड थपिएपछि कार्यक्रम अझ व्यापक र समावेशी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण दूत दयाहाङ राईसमेत सहभागी हुने भएका छन्। प्ले फर नेचरकी संरक्षण व्यवस्थापक फ्लियुर भिसरले खेलकुदका माध्यमबाट रेड पाण्डा र यसको बासस्थान संरक्षणमा समुदायलाई जोड्न म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले ५ किलोमिटर रन थपिएपछि विभिन्न उमेर र क्षमताका व्यक्तिलाई संरक्षण अभियानसँग जोडिने अवसर बढेको बताइन्। रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले म्याराथनले स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्नुका साथै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महत्त्वबारे जनचेतना बढाउन सहयोग गर्ने बताए।
संरक्षणसँग समुदायलाई जोड्ने प्रयास
आयोजकका अनुसार म्याराथनको प्रमुख उद्देश्य रेड पाण्डाको बासस्थान रहेका वन क्षेत्र र त्यहाँ आश्रित समुदायलाई संरक्षण अभियानसँग जोड्नु हो। रेड पाण्डासहित विभिन्न वन्यजन्तु तथा जैविक विविधताका लागि परिचित सोलुखुम्बुका प्राकृतिक सम्पदाबारे अझै धेरै मानिस अनभिज्ञ रहेको भन्दै आयोजकले यस्ता कार्यक्रमलाई जनचेतना विस्तारको माध्यमका रूपमा लिएको छ। हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुका अध्यक्ष ङिमातेण्डुप शेर्पाले स्थानीय वनमा रहेका प्राकृतिक सम्पदा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। उनका अनुसार रेड पाण्डा सोलुखुम्बुको महत्वपूर्ण प्राकृतिक सम्पदामध्ये एक हो। म्याराथनजस्ता कार्यक्रमले स्थानीय समुदायलाई आफ्नो क्षेत्रमा रहेका प्राकृतिक स्रोत र वन्यजन्तुको महत्त्व बुझाउन सहयोग गर्ने उनको भनाइ छ। गत वर्ष इलाममा भएको म्याराथनले पनि स्थानीय समुदाय र सहभागी धावकमा सकारात्मक प्रभाव पारेको आयोजकले जनाएको छ। सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले यस्ता कार्यक्रमले पर्यटक आकर्षित गर्नुका साथै संरक्षणसम्बन्धी चेतना बढाउन र समुदायलाई संरक्षण अभियानमा एकताबद्ध गर्न सहयोग गर्ने बताए। धावक निर्मला राईले म्याराथनमार्फत खोटाङमा समेत रेड पाण्डा संरक्षणका गतिविधि भइरहेको जानकारी पाएको बताइन्। अर्का धावक करण रावलले खेलकुदलाई संरक्षण अभियानसँग जोड्ने यस्तो कार्यक्रमले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै संरक्षणमा योगदान पुर्याउने बताए। प्रकृति, साहसिक यात्रा र वन्यजन्तु संरक्षणमा रुचि भएका अनुभवी धावकका लागि मुख्य म्याराथन खुला गरिएको आयोजकले जनाएको छ।