काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १, बिरुवास्थित ‘उत्साहित सुधारकेन्द्र’मा राखिएका स्थानीय ४४ वर्षीय उमेश खड्गीको मृत्यु भएपछि प्रहरीले सञ्चालकसहित पाँच जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार यही साउन २३ गते सूर्यविनायक–१ सिरुटार घर भएका खड्गीको सुधारकेन्द्रभित्रै मृत्यु भएको थियो। घटनापछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएका आरोपीहरूलाई जिल्ला अदालत भक्तपुरबाट साउन २५ गते सोमबार चार (४) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–४ घर भई सुधारकेन्द्रका अध्यक्ष÷सञ्चालक रहेका ४७ वर्षीय गौतम श्रेष्ठ, रामेछाप सुनापती गाउँपालिका–२ घर भई हाल सुधारकेन्द्रमै बस्ने ३६ वर्षीय सुमन खपाङ्गी मगर, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ का ३८ वर्षीय सविन कार्की, रामेछाप लिखु तामाकोशी गाउँपालिका–१० का ३५ वर्षीय अशोक तामाङ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ घर भएका २८ वर्षीय विकाश खड्का रहेका छन्।
भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिपक कुमार कार्कीका अनुसार मृतक खड्गीको मृत्युको कारण र घटनाको सत्यतथ्य पत्ता लगाउन पक्राउ परेका पाँचै जनामाथि अदालतबाट म्याद तामेली लिई गहन अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।