काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौं ल्याइने भएको छ ।
सांसद मिङ्माडेभिड शेर्पाका अनुसार किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव कतार एयरवेजको उडानमार्फत दोहा हुँदै नेपाल ल्याउन लागिएको हो । उनका अनुसार कतार एयरवेजको विमान मंगलबार अपराह्न ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । विमानस्थलमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि तीनै जनाको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ ।पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरो आएपछि तीन नेपाली आरोहीको मृत्यु भएको थियो । उनीहरूको शव नेपाल ल्याउने प्रक्रिया पूरा भएपछि परिवारलाई बुझाउने तयारी गरिएको छ ।