काठमाडौँ । देशभर जापानी इन्सेफलाइटिसको संक्रमणबाट ५५ दिनको अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार असार र साउन महिनाको तथ्यांक विश्लेषण गर्दा देशभर ४६ जनामा जापानी इन्सेफलाइटिस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् । प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ । झापामा ३ जना तथा इलाम, मोरङ र सुनसरीमा एक–एक जनाको मृत्यु भएको विभागले जनाएको छ । त्यस्तै, मधेस प्रदेशमा ११ जना जापानी इन्सेफलाइटिसबाट प्रभावित भएका छन् । बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीमा संक्रमण देखिएको हो । तीमध्ये धनुषा र रौतहटमा एक–एक जनाको मृत्यु भएको छ ।
यसैगरी दाङमा पनि जापानी इन्सेफलाइटिसका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्यकर्मीका अनुसार संक्रमित लामखुट्टेको टोकाइबाट जापानी इन्सेफलाइटिस मानिसमा सर्ने गर्छ । यद्यपि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यक्ष रूपमा सर्दैन । संक्रमणका कारण मृत्यु भएका तथा प्रभावितमध्ये अधिकांशले जापानी इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । चिकित्सकहरूले जोखिमबाट बच्न समयमै खोप लगाउन तथा लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् ।