काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज धेरैजसो स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित रहेको छ। जसका कारण कोशी र लुम्बिनी प्रदेशका सम्पूर्ण भू–भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने देशका बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ भने पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई भू–भागका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारीदेखि धेरै भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै, वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।