काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। सोमबार बिहान ६ः०० बजेसम्मको अद्यावधिक विवरणअनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन्।
कोशी प्रदेशमा भोजपुरस्थित मध्यपहाडी लोकमार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु रहेको छ भने सो क्षेत्रमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। यस्तै, इलामको राजदुवालीस्थित मेची राजमार्गमा अविरल वर्षाका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएपछि अर्को वैकल्पिक बाटो प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा पहिरो र बाढीका कारण धेरै राजमार्गहरू प्रभावित भएका छन्। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीलाई ध्यानमा राखी साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ः०० देखि साँझ ६ः०० बजेसम्म अवस्था हेरेर सञ्चालन गर्न दिइएको छ। काभ्रेकै रोशी गाउँपालिका–१ पिन्थली र नार्केमा भने पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
यसैगरी कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर खण्डमा जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिकाको चारकिलो, कोदारी, लिपिङ तथा चौतारा साँगाचोकगढीको डुग्रेमा पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको खाल्टेस्थित त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड पनि बाढीका कारण पूर्ण रूपमा बन्द रहेको छ।
गण्डकी र कर्णाली प्रदेशमा पनि सडक अवरुद्ध हुने क्रम जारी छ। गण्डकी प्रदेशअन्तर्गत बागलुङको बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी मात्र सुचारु छ। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा खसेको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ। त्यस्तै कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा बाढी आएकाले भेरी करिडोर (जाजरकोट–डोल्पा सडक खण्ड) पूर्ण रूपमा बन्द रहेको छ।