काठमाडौँ । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन् ।
रिपोर्टर्स क्लबबाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसारको ३८ हजार ७ सय २१ रुपैयाँ भाडा समाज कल्याण परिषद्लाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए ।
धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।
उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको स्पष्ट पारे । काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा पूर्ण साथ रहेको उनको भनाइ थियो ।
‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ ।’
धमलाले रिपोर्टर्स क्लबले विभिन्न आन्दोलन तथा राजनीतिक घटनाक्रममा नागरिकका आवाज सम्बन्धित निकाय तथा जनतामाझ पुर्याउने काम गर्दै आएको बताए । जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूलाई समेत रिपोर्टर्स क्लबले उनीहरूका माग, धारणा र आवाज जनतामाझ पुर्याउन महत्त्वपूर्ण सहयोग गरेको उनले स्मरण गरे ।
कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा सरकारले भाडा तिर्न नपर्ने भने पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए ।
‘कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो । सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो । तर हामीले भाडा तिर्यौँ’, उनले भने ।धमलाले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरे ।
क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी तथा जनताको आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको उनको भनाइ थियो।