काठमाडौँ । भक्तपुरस्थित एक सुधारकेन्द्रमा उपचाररत एक युवाको रहस्यमय मृत्यु भएपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ विरुवास्थित ‘उत्साहित सुधारकेन्द्र’मा राखिएका ४४ वर्षीय उमेश खड्कीको निधन भएपछि स्थिति बिग्रिएको हो।
खड्कीको मृत्युको खबर सार्वजनिक भएसँगै आक्रोशित बनेका आफन्त तथा स्थानीयवासीले सुधारकेन्द्र परिसरमा प्रदर्शन गर्दै ढुङ्गामुढा प्रहार गर्ने प्रयास गरेका थिए। आफन्तहरूले सुधारकेन्द्रको लापरबाही वा यातनाका कारण मृत्यु भएको आरोप लगाउँदै सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
घटनाबारे जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको छ। घटनाको निष्पक्ष अनुसन्धानका लागि सुधारकेन्द्रका केही कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।