काठमाडौँ । नेपालको पहिलो ‘कमेडी एक्ट’मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। आइतबार राजधानी काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच शोको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा मुख्य निर्णायकका रूपमा जोडिएका महानायक राजेश हमालले ‘सुपर कमेडी लिग’ आफ्नो लागि अन्य टेलिभिजन कार्यक्रमभन्दा फरक र विशेष अनुभव हुने बताए । टेलिभिजन प्रस्तोताका रूपमा लामो समयदेखि काम गर्दै आए पनि कमेडीमा आधारित रियालिटी शोमा मुख्य भूमिका निर्वाह गर्न लागेको यो पहिलो पटक भएको उनले बताए ।
कमेडी विधा कलाकारिताको सबैभन्दा चुनौतीपूर्ण विधा रहेको उल्लेख गर्दै हमालले मानिसलाई रुवाउन वा अन्य भावनामा ल्याउन सहज भए पनि हँसाउनु अत्यन्त कठिन काम भएको र त्यसका लागि विशेष हास्यचेत (सेन्स अफ ह्युमर) आवश्यक पर्ने रहेका हमालले बताए ।
‘सुपर कमेडी लिग’मा आफू मुख्य निर्णायकको भूमिकामा रहे पनि प्रतियोगीहरूलाई अंक दिने जिम्मेवारी भने आफ्नो नरहने हमालले स्पष्ट पारे । प्रतियोगीहरूको प्रस्तुति हेरेर आवश्यकताअनुसार सकारात्मक तथा रचनात्मक सुझाव दिने आफ्नो मुख्य भूमिका रहने उनले बताए । निर्देशक आलन श्रेष्ठसँग करिब एक वर्षदेखि निरन्तर छलफल र गृहकार्य गरेपछि मात्रै शोको औपचारिक घोषणा गरिएको जानकारी दिँदै हमालले नयाँ पुस्ताका प्रतिभाहरूसँगै पुराना अनुभवी कलाकारहरूको प्रस्तुति हेर्न आफू निकै उत्सुक रहेको हमालले बताए ।
यस रियालिटी शोमा कलाकारहरू विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्तले क्याप्टेन तथा मेन्टरको जिम्मेवारी सम्हाल्नेछन्। शोका लागि देशका प्रमुख पाँच सहरहरूमा अडिसन आयोजना गरी उत्कृष्ट हास्य प्रतिभाहरूको छनोट गरिने आयोजकले जनाएको छ।