काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्नुपर्ने निकायबाटै संविधानप्रति प्रश्न उठ्ने गतिविधि भइरहेकाले त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानका उपलब्धिमाथि पटक–पटक प्रश्न उठिरहेकाले संविधानमाथिको शंकाको बादल अझै हटिनसकेको बताए। उनले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिए। संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकार, पहिचान र आवाजलाई सुनिश्चित गरेको उनले बताए। यी अधिकार कसैको निगाहमा प्राप्त नभएको भन्दै आङ्देम्बेले त्यसका लागि धेरै पुस्ताले संघर्ष र बलिदान गरेको स्मरण गरे। ‘यी उपलब्धि संविधानमा लेखाउन धेरैको रगत र पसिना बगेको छ,’ उनले भने, ‘त्यसैले यस्ता उपलब्धि कसैको लहडमा बोलिने विषय बन्नु हुँदैन।’ आङ्देम्बेले आदिवासी अधिकारका विषयमा सामाजिक सञ्जालमा आवाज उठाउने तर वास्तविक रूपमा एकता र शक्ति प्रदर्शन गर्नुपर्ने बेला पछि हट्ने प्रवृत्तिप्रति पनि सचेत हुनुपर्ने बताए। संविधानले सुनिश्चित गरेका अधिकार र उपलब्धिको संरक्षणका लागि समुदायको एकता, सक्रिय सहभागिता र निरन्तर खबरदारी आवश्यक रहेको उनको भनाइ थियो।