काठमाडौँ । जापानमा भिसा परिवर्तन र रोजगारी लगाइदिने भन्दै १५ जनाभन्दा बढी नेपालीबाट लाखौँ येन ठगी गरेको घटना सार्वजनिक भएको छ।
चिबामा ‘पोसुतो’ नामको श्रमिक आपूर्ति कम्पनी सञ्चालन गर्दै आएका रोमन भट्टराईले प्रतिव्यक्ति साढे चार लाख येनसम्म रकम लिएको पीडितहरूले बताएका छन्। भट्टराईले जापानी कम्पनी ‘इनाहो’को नक्कली नाइतेइ (रोजगारी नियुक्तिको पत्र) देखाएर रकम लिएको पाइएको हो। पीडितमध्ये केहीको वर्किङ भिसा आए पनि काम भने पाएका छैनन्। भिसा आएको तीन महिनासम्म पनि काम नपाएपछि आफूहरू ठगीमा परेको उनीहरूको भनाइ छ। इनाहो कम्पनीले भने पीडितहरूले पाएको नाइतेइ आफूहरूले जारी नगरेको जनाएको छ।
कम्पनीका अनुसार नाइतेइ दिनुअघि सम्बन्धित व्यक्तिको अन्तर्वार्ता लिइन्छ, तर पीडितहरूले आफूहरूले अन्तर्वार्ता नै नदिएको बताएका छन्। भट्टराईले भने फोर्कलिफ्टको लाइसेन्स नभएका कारण तत्काल काम दिन नसकिएको र काम खोजिरहेको दाबी गरेका छन्। तर, कुन कम्पनीबाट उनीहरूको भिसा आएको हो भन्ने आफूलाई समेत थाहा नभएको उनले बताएका छन्। पीडितहरूले रकम भट्टराईको खातासँगै अन्य व्यक्तिका व्यक्तिगत खातामा समेत जम्मा गर्न लगाइएको प्रमाण भेटिएको छ। ह्युमन रिसोर्सेस कम्पनीका सञ्चालक डा भुपालमान श्रेष्ठले परदेशमा नेपालीबाटै नेपाली ठगिनु दुःखद भएको भन्दै यस्ता घटनाले जापानमा नेपालीप्रतिको धारणा नकारात्मक बन्न सक्ने बताएका छन्।