कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका–०४ जगदिशपुर क्षेत्रबाट अवैध पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। कृष्णनगर नगरपालिका–०८ बहादुरगन्जका स्थानीय बासिन्दालाई गाउँघरमा डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको भन्ने विशेष जानकारी प्राप्त भएपछि प्रहरीले उनीहरूको खोजी तीव्र पारेको थियो। सोही क्रममा प्रहरीले विजयनगर गाउँपालिका–०४ जगदिशपुरबाट उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका–०५ डबरा बस्ने २३ वर्षीय आषिश पाण्डे, सोही नगरपालिकाको वडा नम्बर ८ दयानगर बस्ने २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
उनीहरूको साथबाट एक थान पेस्तोल र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकलसमेत बरामद गरिएको छ। उक्त घटना, पक्राउ परेका व्यक्तिहरूको उद्देश्य र अन्य संलग्नताबारे प्रहरीबाट हाल थप अनुसन्धान भइरहेको छ।