काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँचका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १३९ जना सवारी चालकलाई कारबाही गरेको छ। सडक अनुशासन पालना नगर्ने र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
आइतबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७९ जना, सीसीटीभी (ऋऋत्ख्) मार्फत निगरानी गर्दा नियम उल्लङ्घन गर्ने ९८ जना र रातो बत्तीको इसारा उल्लङ्घन गर्ने ७६ जना चालक कारबाहीमा परेका छन्।
यसैगरी, निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी हाँक्ने १८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने २४ जना, लेन अनुशासन पालना नगर्ने १९ जना, सवारी साधनको यान्त्रिक अवस्था ठिक नराखी चलाउने २३ जना र एकतर्फी (वान–वे) सडकमा सवारी छिराउने २३ जनालाई कारबाही गरिएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ६१३ जना गरी कुल १ हजार १३९ जना सवारी चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।