काठमाडौँ । लगातारको वर्षा, पहिरो, सडक भासिनु र कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै तेह्रथुमस्थित मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक तथा रुकुम पश्चिमको भेरी करिडोरलगायतका सडकखण्डमा यातायात पूर्ण रूपमा प्रभावित भएको जनाएको छ।
सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म मात्र सवारी सञ्चालन गर्न दिने व्यवस्था मिलाइएको छ। यसैगरी, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
अन्य सडकखण्डको अवस्था हेर्दा, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा अत्यधिक हिलोका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने सो क्षेत्रमा वैकल्पिक मार्गमार्फत सवारी सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन्। यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पनि अरनिको राजमार्ग ठप्प बनेको छ।
उता रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा खोलाले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा ठप्प रहेका छन्। प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम निरन्तर कायमै रहेकाले यात्रामा निस्कनुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडकको अवस्थाबारे पूर्वजानकारी लिन सर्वसाधारणमा अनुरोध गरेको छ।