काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका बाँकी भू–भागमा आंशिक बदली भई मौसम मुख्यतया सफा रहेको छ। अहिले बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी, आज राति पनि देशभर साधारणतया बदली नै रहनेछ। हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। रातिको समयमा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका साथै कर्णाली, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनेछ। राति कोशी प्रदेशका हिमाली, पहाडी र तराई भू–भाग, बागमती प्रदेशका हिमाली र पहाडी भू–भाग, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भाग, मधेश प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।