काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले उक्त कुरा बताएका हुन्।
सम्बोधनका क्रममा वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गर्दै उनले भने, “यो देशमा अहिलेको वर्तमान संविधान लागू गरिरहँदा यो रेशम चौधरी थारुहट विद्रोहका कारण प्रवासमा थियो। हामीलाई प्रवासमा लखेटेर जारी गरिएको संविधानमा हाम्रो अधिकार किञ्चित लेखिएन।”
आन्दोलन र पहिचानको लडाइँमा भोग्नुपरेको सास्तीको चर्चा गर्दै उनले थपे, “हामीले पहिचान माग्यौँ, त्यसको बदलामा जेल पायौँ। हामीले मुठ्ठी उचाल्यौँ, हातमा हतकडी लगाइयो। जबर्जस्ती चलमलाउन खोज्यौँ, खुट्टामा नेल ठोकियो।”
अधिकारका लागि लामो समयदेखि सङ्घर्ष गरे पनि आपसमा असमञ्जस्यता रहेकाले सोचेजस्तो उपलब्धि हासिल हुन नसकेको हो कि भन्ने समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। उनले विभिन्न समुदाय, पोसाक र संस्कृतिबीचको विविधतालाई एकतामा जोड्दै अधिकार प्राप्तिका लागि साझा मोर्चा आवश्यक रहेको बताए।
“दौरासुरुवालको फेरसँग हात मिलेपछि, धोतीसँग माया मिलेपछि, चौबन्दीसँग छाती जोडिएपछि सबैकुरा नमिले पनि परिश्रमले चुहाएको पसिना पुछिदिने गम्छा त मिल्छ नि,” एकताको सन्देश दिँदै उनले भने।
अग्रगामी मोर्चा गठनबारे चर्चा गर्दै चौधरीले देशमा संविधान कार्यान्वयन भइरहँदा पनि उत्पीडित समुदायको अधिकार सुनिश्चित हुन नसकेकाले सबै पक्षबीचको एकबद्धता अपरिहार्य रहेको बताए। मोर्चाले गर्ने आगामी काम र योजनाबारे प्रस्तुत गरिने कार्यपत्रले स्पष्ट पार्नेसमेत उनले जानकारी दिए।