डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सुकुम्बासी समस्या समाधान आयोगले नाप–नक्सा गरेको ३८ वर्षपछि उनीहरुले लालपुर्जा प्राप्त गरेका हुन् ।
साविक जोगबुढा गाविस वडा नं. १ मा २०४५ सालमा सुकुम्बासी समस्या समाधान आयोगले नाप–नक्सा गरे पनि त्यसपछिको प्रक्रिया अघि नबढ्दा स्थानीयले लामो समयसम्म जग्गाको कानुनी स्वामित्व पाउन सकेका थिएनन्। पछि २०५५ साल पुस २६ गते पुनः आयोगले प्रक्रिया अगाडि बढाए पनि पुर्जा वितरण भने हुन सकेको थिएन।
विगतका आयोगहरूबाट सुरु भएको काम अधुरै रहँदा खजुरानी र तुलाभाडी गाउँका स्थानीय लामो समयदेखि लालपुर्जाको पर्खाइमा थिए।
हालको समितिको कार्यविधि तथा प्रचलित नियमअनुसार विगतका अधुरा कामहरूलाई निरन्तरता दिँदै नियमानुसार राजस्व सङ्कलन गरी प्रक्रिया पूरा गरिएको हो। साढे तीन दशकभन्दा बढी समयको पर्खाइपछि लालपुर्जा हात परेकोमा स्थानीय बासिन्दा खुसी भएका छन्।