काठमाडौं । आज शनिबार सार्वजनिक बिदा हो। शनिबार सरकारी कार्यालयहरू बन्द हुने भएकाले सरकारी सवारीसाधन पनि सामान्यतया सञ्चालन गर्न पाइँदैन।
कुनै कार्यक्रम वा फिल्डमा जानुपर्ने भए सम्बन्धित निकायबाट अनुमति लिएर मात्रै सरकारी सवारीसाधन चलाउन पाइने व्यवस्था छ।
तर, वीरगन्जको एक क्षेत्रमा भने शनिबार सार्वजनिक बिदाको दिन सरकारी मोटरसाइकल खुलेआम प्रयोग भइरहेको पाइएको छ। प्रदेश ०२–०३००–१०९ नम्बरको मोटरसाइकल सडकमा गुडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले त्यसको भिडियोसमेत बनाएका छन्।
वीरगन्ज भन्सार नजिकै सरकारी मोटरसाइकल प्रयोग भइरहेको भन्दै स्थानीयले ट्राफिक प्रहरीलाई समेत जानकारी गराएको बताएका छन्। तर, ट्राफिक प्रहरीले घटनालाई बेवास्ता गरेको स्थानीयको आरोप छ।
स्थानीयका अनुसार उनीहरूले मोटरसाइकल रोक्न खोज्दा समेत चालक नरोकिई अघि बढेका थिए। मोटरसाइकलको चाबीको गुच्छामा ‘राष्ट्र बैंक’ लेखिएको देखिएको स्थानीयको भनाइ छ।
यद्यपि, उक्त मोटरसाइकल कुन कार्यालयको नाममा रहेको हो र सार्वजनिक बिदाको दिन कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भन्ने विषय भने खुल्न बाँकी छ।
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन प्रयोग गर्न अनुमति थियो वा थिएन भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट हुन बाँकी छ।