काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तहभन्दा तलै रहे पनि विभिन्न जिल्लाका स-साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूको जलसतह सामान्य छ। त्यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बहाव सतर्कता तहभन्दा मुनि रहेको महाशाखाले जनाएको छ।
यद्यपि, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। त्यसैगरी गोरखा, लमजुङ, बाग्लुङ, तनहुँ, म्याग्दी, कास्की, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट र बझाङका आसपासका साना नदीहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
महाशाखाका अनुसार भोलि र पर्सी पनि कोशी र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने देखिन्छ। आगामी केही दिन साना नदी किनारका क्षेत्रमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेका छन्।
