काठमाडौं । कालीकोटको पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना सेलाउन नपाउँदै राति फेरि अस्पताल परिसरमै तोडफोड र कर्मचारीमाथि कुटपिट भएको छ।
शुक्रबार दिउँसो मेडिकल अफिसर डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि आक्रमण भएको केही घण्टामै राति अस्पतालमा पुनः हमला भएको हो।
राति करिब सवा ९ बजे स्थानीय तपेन्द्र बम अस्पतालभित्र प्रवेश गरी अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि हातपात गरेको बताइएको छ। त्यसक्रममा अस्पतालका विभिन्न संरचना तथा उपकरणमा समेत क्षति पुगेको छ।
पलाँता गाउँपालिका–९, थिर्पुस्थित अस्पतालमा दिउँसो भएको घटनाबारे छलफल गर्न स्वास्थ्यकर्मी, स्थानीय, जनप्रतिनिधि र प्रहरीबीच साँझ छलफल भएको थियो। तर स्वास्थ्यकर्मीहरूले घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास अस्वीकार गर्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने अडान राखेका थिए।
डा. अलीका अनुसार पछिल्लो एक सातादेखि आफूहरूमाथि गालीगलौज र दुर्व्यवहार हुँदै आएको थियो। दिउँसो कुटपिटसमेत भएपछि आफूहरू कुनै सम्झौता नगर्ने अडानमा रहेको उनको भनाइ छ।
छलफलपछि राति अस्पताल फर्किएको केही समयमै बम अस्पताल प्रवेश गरेको डा. अलीले बताए। उनका अनुसार बमले आपत्तिजनक शब्द प्रयोग गर्दै अस्पतालको बाहिरी ढोका तोडेर प्रवेश गरेका थिए। उनलाई रोक्न खोज्दा सुरक्षा गार्डमाथि समेत हातपात भएको बताइएको छ।
डा. अली अस्पतालको भित्री भागमा रहेकाले आफूमाथि आक्रमण हुन नसकेको तर त्यसपछि अस्पतालका सामान र उपकरणमा व्यापक तोडफोड गरिएको उनको भनाइ छ।
ओपीडीमा रहेको भिडियो स्क्यान मेसिन, खोप राख्ने फ्रिज, पंखा, झ्याललगायतमा क्षति पुगेको बताइएको छ। फार्मेसीको ढोका समेत तोडेर औषधि राखिएका दराज र र्याक पल्टाइएको सीसीटीभीमा देखिएको अस्पतालले जनाएको छ।
घटनापछि प्रहरीले अस्पताल पुगेर बमलाई नियन्त्रणमा लिएको डा. अलीले जानकारी दिए।
लगातारको आक्रमणपछि आफूहरू असुरक्षित महसुस गरिरहेको र यस्तो अवस्थामा अस्पतालमा सेवा दिन कठिन भएको डा. अलीको भनाइ छ।
पलाँता गाउँपालिकाका स्वास्थ्य संयोजक धनप्रसाद न्यौपानेका अनुसार डा. अलीलाई प्रहरी सुरक्षामा अस्पतालबाट बाहिर पठाउने व्यवस्था मिलाइएको छ। उनका अनुसार डा. अलीले बिहानै अस्पताल छाड्न खोजे पनि सुरक्षा व्यवस्थापनपछि फर्कने तयारी गरिएको हो।