काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४०६ जना सवारी चालकलाई कारबाही गरेको छ। शनिबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा नियम उल्लङ्घन गर्ने चालकहरू कारबाहीको दायरामा आएका हुन्।
ट्राफिक प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने १८० जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८५ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ८० जना, सिसिटिभी मार्फत नियम उल्लङ्घन गरेको पुष्टि भएका ७५ जना, ट्राफिक लाइट (रातो बत्ती) उल्लङ्घन गर्ने ६१ जना, सवारी साधनको अवस्था ठीक नभएका ५९ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ४२ जना र एकतर्फी सडकमा सवारी चलाउने २४ जना रहेका छन्।
यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ८०० जना चालकलाई समेत नियमानुसार कारबाही गरिएको प्रहरीले जनाएको छ। उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक व्यवस्थापनलाई थप चुस्त र सुरक्षित बनाउन ट्राफिक प्रहरीले नियमित रूपमा यस्तो विशेष अभियान सञ्चालन गर्दै आएको छ।