रूपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबार बिहानदेखि रहस्यमय रूपमा सम्पर्कविहीन भएका छन्। उनी चढेर गएको मोटरसाइकल जङ्गलमा अलपत्र अवस्थामा भेटिए पनि उनी सम्पर्कमा आउन सकेको छैनन् ।
प्रहरी, स्थानीय बासिन्दा र आफन्तको टोलीले हिजो राति अबेरसम्म खोजी गर्दा पनि उनी नभेटिएपछि शनिबार बिहानैदेखि पुनः गोरुसिङ्गे जङ्गल क्षेत्रमा व्यापक खोजी सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय गोरुसिङ्गेसहितको प्रहरी टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।
गएराति प्रहरी र स्थानीयवासीसहित ठूलो सङ्ख्यामा खटिएको टोलीले ढेकहरी क्षेत्रको आसपासका क्षेत्रमा खोजी गरेको थियो। पूर्वमेयर सिंहले ढेकहरीमा व्यावसायिक फार्म खोल्ने तयारी गरिरहेकाले यसअघि पनि उनी सो स्थानमा पटक–पटक जाने गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।