रुपन्देही । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकमा भएको आर्थिक घोटाला प्रकरणमा संलग्न बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकिशोर कुशवाहको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दामा फरार रहेका तत्कालीन सिइओ निरजबिक्रम शाहसहित तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्ने अन्यमा नेपालगन्ज उपमहानगरपालिका–१२ की ३९ वर्षीया दीपा थापा (बैंककी तत्कालीन शाखा प्रबन्धक) र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ (शाहकी श्रीमती) रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी प्रतीकसिंह राठौरका अनुसार विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–१२ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा पेस गरिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बैंकबाट ३ अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको निष्कर्ष निकाल्दै १११ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दायर गरेको थियो। प्रतिवेदनमा बैंक घोटालामा नेपाल राष्ट्र बैंकका केही अधिकारीहरूको समेत मिलेमतो रहेको औँल्याइएको छ।
वित्तीय अवस्था निरन्तर ओरालो लागेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन गरी बैंक सञ्चालनको जिम्मा दिएको थियो। यस बैंकमा बाँके, बर्दिया र दाङका हजारौँ सर्वसाधारण तथा स्थानीयको बचत रकम सङ्कलन भएको थियो।