काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा तिन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
शनिबार बिहान देशभरका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराईका केही क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। हाल बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा अन्य प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति पनि देशभर मौसम साधारणतया बदली नै रहनेछ। रातिको समयमा हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा र हिमपात हुनेछ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।