जाजरकोट । झारफुक गर्ने बहानामा १४ वर्षीया बालिकामाथि कुटपिट गर्ने ५९ वर्षीय हिरालाल चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमास्थित सार्वजनिक सडक खण्डमा गत असार ५ गते दिउँसो चलाउनेले ती बालिकालाई हातमुक्काले कुटपिट गरेका थिए। कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले चासो देखाउँदै अनुसन्धान र कारबाही अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले साउन २१ गते दिउँसो चलाउनेलाई बारेकोट गाउँपालिका वडा नम्बर ६ बाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चलाउनेमाथि थप अनुसन्धानका लागि जाजरकोट जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिएका छन्।