काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले ग्यास वितरण प्रक्रियामा पारदर्शिता, जवाफदेहिता तथा उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्दै ग्यास आपूर्तिलाई तत्काल सहज बनाउन सरकारलाई निर्देशन दिएको छ।
आयोगले नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप प्रभावकारी बनाउन र ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा उपभोक्ताको अनावश्यक भण्डारण गर्ने प्रवृत्तिलाई नियमन गर्न र अत्यावश्यकीय वस्तुको सहज आपूर्ति मिलाई उपभोक्ता अधिकारको संरक्षण गर्न आग्रह गरिएको छ।
विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा देखिएको ग्यासको अभाव र त्यसले नागरिक जीवनमा पारेको असरबारे आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल आयल निगम, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र सर्वसाधारण उपभोक्ताहरूसँग सोधपुछ गरी वस्तुस्थिति बुझेको जनाएको छ।
