काठमाडौँ । अन्तरजातिय प्रेम विवाह गरेकै कारण रहस्यमय हत्या गरिएका काभ्रेका अजित मिजारले लामो समयदेखि न्याय पाएका छैनन्। १० वर्षदेखि न्यायको ढोका ढक्ढक्याइरहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको आशा गर्दै अजितको शवको पुनः फरेन्सिक परीक्षण गर्न माग गरेको छ।
शुक्रबार अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेटेर न्यायको याचना गर्दै अजितको शवको पुनः फरेन्सिक परीक्षण गर्न माग गरेका हुन्।
अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजित मिजारको रहस्यमय हत्या भएको थियो। अजितको शव अहिले पनि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ। न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले मन्त्रालयमा भएको छलफलका क्रममा नयाँ सरकारले न्याय दिलाउने आशा व्यक्त गरे। उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन र निष्पक्ष छानबिन सुनिश्चित गर्न शवको विधि विज्ञान (फरेन्सिक) परीक्षणको व्यवस्था मिलाइदिन माग राखे।
काभ्रेका अजितको शव धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा फेला परेको थियो। सुरुमा प्रहरीले परिवारलाई जानकारी नै नदिई शव उठाएर गाडेको भए पनि पछि परिवार र अधिकारकर्मीहरूको दबाबपछि शव खनेर पोष्टमार्टम गरिएको थियो।
अजित हत्याको विषय जिल्ला र उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगिसकेको छ। तर प्रहरीको मिलेमतो र प्रमाण सङ्कलनमा भएका कमजोरीका कारण आरोपितहरूले सफाइ पाएका छन्। पीडित परिवारले सर्वोच्च अदालतमा पुनः फरेन्सिक परीक्षणको माग गरे पनि अहिलेसम्म त्यसअनुसार प्रक्रिया अघि बढ्न सकेको छैन।
भेटका क्रममा मन्त्री सीता बादी र सचेतक प्रकाशचन्द्र परियारले मिजार परिवारको पीडाप्रति पूर्ण सहानुभूति प्रकट गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन्।