काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिकाभित्र सञ्चालित अधिकांश निजी विद्यालयले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट समेत अतिरिक्त शुल्क असुलिरहेको गुनासो आएपछि उपमहानगरपालिकाले कडाइ गर्ने भएको छ।
शुक्रबार उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत ९निजी० विद्यालयका प्रतिनिधिसँग छलफल गर्दै छात्रवृत्ति प्राप्त विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क नलिन स्पष्ट निर्देशन दिएको हो। समितिले कक्षा १ देखि ५ सम्मका छात्रवृत्ति प्राप्त विद्यार्थीबाट अधिकतम ७ हजार रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ९ हजार रुपैयाँ र कक्षा ९ देखि १० सम्म बढीमा १० हजार रुपैयाँ मात्र शुल्क लिन पाइने व्यवस्था दोहोर्याएको छ। यस सीमाभन्दा बढी कुनै पनि शीर्षकमा रकम असुल गर्न नपाइने समितिले स्पष्ट पारेको छ। नियम उल्लंघन गरी अतिरिक्त शुल्क लिएको पाइए सम्बन्धित विद्यालयलाई जरिवानासहित आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ। यस्तै, तोकिएको मापदण्डभन्दा बढी शुल्क असुल गरिसकेका विद्यालयहरूले अतिरिक्त रूपमा लिएको रकम सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्णयसमेत शिक्षा समितिले गरेको जनाएको छ।