काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्न कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। उनले सरकारको कार्यशैली र संविधानप्रतिको दृष्टिकोणले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी पनि दिएका छन्।
शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले पछिल्लो समय सत्तापक्षका मन्त्री तथा सांसदहरूको व्यवहारले लोकतान्त्रिक शासन प्रणालीमाथि प्रश्न उठाएको बताए। उनले सत्ताधारी पक्षका सांसदहरूले कर्मचारीमाथि दबाब सिर्जना गर्ने र मन्त्रीहरूले उत्तेजनापूर्ण अभिव्यक्ति दिने क्रम बढेको उल्लेख गर्दै बहुमतको अहंकारले शासन प्रणालीलाई अराजकतर्फ उन्मुख बनाएको दाबी गरे। आफूले अहिले मुलुकमा शासकीय अराजकताको अवस्था देखिरहेको उनको भनाइ थियो। थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको कार्यशैलीले राज्य संयन्त्रमै गलत सन्देश प्रवाह भएको टिप्पणी गरे। प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीबिनै बैठक गर्ने, अर्थमन्त्रीले गभर्नरको अनुपस्थितिमै बैठक राख्ने तथा राज्यका निकायसँग जोडिएका घटनाहरूले सुशासनमाथि प्रश्न उठाएको उनको आरोप थियो। उनले सरकारले अपनाइरहेको कार्यशैलीलाई अराजकताको संकेतको रूपमा व्याख्या गर्दै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नु आफ्नो राजनीतिक दायित्व भएको बताए।संविधानप्रतिको सरकारको बुझाइप्रति पनि थापाले चिन्ता व्यक्त गरे।
संविधान कार्यान्वयन आवश्यक भए पनि त्यसलाई हेर्ने सरकारको दृष्टिकोणले देशलाई ठूलो द्वन्द्वतर्फ लैजान सक्ने जोखिम रहेको उनको भनाइ थियो। उनले राजनीतिक दलहरूलाई यस्ता संवेदनशील विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि यही कुरा राखेको बताए। विशेष महाधिवेशनबारे बोल्दै थापाले पार्टी विधानअनुसार सार्वभौम सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरेको बताए। उक्त महाधिवेशनको वैधानिकता महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत पुष्टि भइसकेको उल्लेख गर्दै अब अदालतमा पुनः सुनुवाइ भए पनि कांग्रेस आफ्नो पक्ष मजबुत रूपमा प्रस्तुत गर्न तयार रहेको उनले बताए।