काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका २१ वर्षीय रवीन्द्रकुमार मेहेताको शव चार दिनदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ।
राहत, क्षतिपूर्ति, सहिद घोषणा र सरकारसँग भएको सहमतिका विषयमा परिवार र सरकारबीच सहमति नजुट्दा शव अझै अस्पतालबाट उठाउन सकिएको छैन। देवानगञ्ज–३ का मेहेताको मंगलबार उपचारकै क्रममा निधन भएको थियो। प्रारम्भिक उपचार विराटनगरमा भएपछि उनलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको थियो।
गोली लागेर बायाँ तिघ्राको नसामा गम्भीर चोट पुगेका उनको शल्यक्रिया गरिएको थियो। पछि संक्रमण बढेपछि चिकित्सकको सल्लाहअनुसार गोली लागेको खुट्टा काट्नुपरे पनि स्वास्थ्यमा सुधार आउन नसक्दा उनको मृत्यु भएको हो।
मृत्युपछि गृहमन्त्री सुदन गुरुङ, मृतकका परिवार र देवानगञ्ज गाउँपालिकाका प्रतिनिधिबीच पटक–पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किएको छैन। परिवारले यसअघि देवानगञ्ज घटनामा ज्यान गुमाएका अन्य मृतकका परिवारलाई उपलब्ध गराइएको सुविधा र सहमति रवीन्द्रको परिवारमा पनि समान रूपमा लागू गर्नुपर्ने माग राखेको छ।
तर गृहमन्त्री गुरुङले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै क्षतिपूर्ति, सहिद घोषणा तथा अन्य मागबारे निर्णय प्रक्रिया अघि बढ्ने अडान दोहोर्याएका छन्। यही कारण वार्ता निष्कर्षमा पुग्न नसकेको जनाइएको छ।
यसबीच, सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा रवीन्द्रको अन्तिम संस्कारका लागि आफन्त र स्थानीयवासी चार दिनदेखि शवको प्रतीक्षामा छन्। शव गाउँ नपुग्दा परिवार शोकमा रहेको छ भने स्थानीयले सरकार र परिवारबीच छिट्टै सहमति भई अन्तिम संस्कारको वातावरण बन्ने अपेक्षा गरेका छन्।