काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्डको आवागमन प्रभावित भएको जनाएको छ। प्रहरीका अनुसार जोखिमयुक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइनुका साथै केही स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको छ भने धेरैजसो सडक पूर्ण रूपमा ठप्प रहेका छन्।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ देखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ। यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ भने सो क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो र सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध बनेका छन्। लामासाँघु–रामेछाप सडकखण्डको दोलखास्थित तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रुकुम पश्चिमको रिजेगार्ड खोलास्थित भेरी करिडोर तथा मुस्ताङको थासाङ गाउँपालिका–४ कैकु खोलास्थित बेनी–जोमसोम सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ भिरकाटे क्षेत्रमा सडक बगाउँदा बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा यातायात अवरुद्ध भएको छ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ लेखस्थित मदन भण्डारी सडकखण्डमा सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।