काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज शुक्रबार पनि मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास र पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकाले मौसममा बदली आएको हो। हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली भएको छ भने मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली रहेको छ। अहिले बागमती र कर्णाली प्रदेशका केही स्थानका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। तराईका केही भू–भागमा पनि मध्यम स्तरको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज राति पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, हिमाली भागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको र तराईका केही स्थानमा मध्यम वर्षा जारी रहन सक्ने महाशाखाले जनाएको छ।
लगातारको वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहणका साथै सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले विभागले जारी गर्ने मौसमसम्बन्धी पछिल्ला सूचना तथा अद्यावधिक जानकारीमा नियमित अपडेट रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।