काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी र सचिव प्रा. डा. रोजी श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यसपश्चात् मन्त्री पोखरेलको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई आयोगको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथग्रहण कार्यक्रमपछि बोल्दै मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।
जवाफमा नवनियुक्त अध्यक्ष प्रा. डा. केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी सचिव प्रा. डा. श्रेष्ठले पनि आफ्नो कार्यकालमा आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको रूपान्तरणका लागि जिम्मेवारीपूर्वक लाग्ने बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुनुहुन्छ। तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय थिए ।