काठमाडौँ । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी बजारमा कालोबजारी गर्ने व्यक्ति वा समूहविरुद्ध कडा कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी (कृष्ण थापा)ले पत्रकारहरूसँग कुरा गर्दै ग्यासको आपूर्ति प्रभावित पार्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित रूपमा भण्डारण गर्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाही हुने स्पष्ट पारे। उनका अनुसार ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ र ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ अनुसार दोषी ठहरिने व्यक्ति वा संस्थामाथि मालसामान जफत, जरिवाना तथा कैद सजायसम्मको व्यवस्था छ। प्रशासनले बजारमा अत्यावश्यक वस्तुको सहज आपूर्ति कायम राख्न तथा उपभोक्ताको हित संरक्षण गर्न कानुनविपरीत गतिविधिमा संलग्न नहुन व्यवसायीलाई आग्रह गरेको छ।