काठमाडौँ । मेडिकल व्यवसायी (दुर्गा प्रसाईं)ले राजसंस्था हटाइएपछि नेपालमा विदेशी प्रभाव बढेको दाबी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई नेपाल र नेपालीका लागि चुनौतीपूर्ण भएको टिप्पणी गरेका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राजसंस्था कायम रहेका बेला नेपाललाई पशुपतिनाथ, सगरमाथा र वैदिक सभ्यताको देशका रूपमा चिनिने गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले अहिलेको नेतृत्वले राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए। उनका अनुसार संविधानसभाको पहिलो बैठकबाट धर्मनिरपेक्षता र राजसंस्था हटाउने निर्णय गरिएपछि देशले विभिन्न समस्या भोग्न थालेको छ। राजसंस्था रहँदासम्म नेपालमा विदेशी शक्तिको प्रभाव सीमित रहेको दाबी गर्दै त्यसपछिका राजनीतिक परिवर्तनले देश अस्थिरतातर्फ धकेलिएको उनको भनाइ थियो।
प्रसाईंले फागुन २१ गते हुने निर्वाचनलाई नेपाल र नेपालीका लागि ‘पासो’को संज्ञा दिँदै यसले मुलुकको भविष्यमा गम्भीर असर पार्न सक्ने दाबी गरे। उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती कर्मचारीलाई पनि राष्ट्रको हितलाई केन्द्रमा राखेर आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे। सुनसरीमा हालै भएको घटनाप्रति पनि उनले सरकारको आलोचना गर्दै त्यसको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। सेना परिचालन मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिको स्वीकृतिपछि मात्रै हुने व्यवस्था रहेको उल्लेख गर्दै उक्त विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको माग थियो। प्रसाईंले सरकारका निर्णय र सुरक्षा परिचालनबारे निष्पक्ष छानबिन आवश्यक रहेको धारणा पनि व्यक्त गरे।