काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सञ्चालनमा ल्याएको छ। यससँगै कन्सुलर प्रमाणीकरणका लागि आवश्यक कागजात अब अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको छ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रणालीको औपचारिक शुभारम्भ गरे। मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सेवा प्रवाहलाई सहज, पारदर्शी, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यो प्रणाली विकास गरेको हो। नयाँ प्रणाली लागू भएपछि नेपालका विभिन्न सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिसपत्र तथा अन्य आवश्यक कागजातको कन्सुलर प्रमाणीकरणका लागि सेवाग्राहीले घरबाटै अनलाइन आवेदन दिन सक्नेछन्। कार्यक्रममा बोल्दै मन्त्री खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णय कार्यान्वयनको चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे। उनले ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ले परराष्ट्र मन्त्रालयको सेवा प्रवाहलाई थप आधुनिक, छिटो र उदाहरणीय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनले सरकारले ‘डिजिटल नेपाल’ र सुशासनको अवधारणाअनुसार सार्वजनिक सेवालाई क्रमशः डिजिटल माध्यममा रूपान्तरण गर्ने नीति अघि बढाइरहेको उल्लेख गर्दै सोही प्रतिबद्धताको निरन्तरताका रूपमा यो प्रणाली सञ्चालनमा ल्याइएको बताए। मन्त्री खनालका अनुसार विगतमा कन्सुलर प्रमाणीकरणका क्रममा कागजातमा त्रुटि वा अपुग विवरण भए सेवाग्राहीले सम्बन्धित निकायमा फर्किएर प्रक्रिया पूरा गरी पुनः विभाग आउनुपर्ने बाध्यता थियो। अब भने सम्बन्धित स्थानबाटै अनलाइन आवेदन दिन सकिने र आवेदन स्वीकृत भएपछि मात्रै विभागमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। उनले यसबाट सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने, पटक–पटक विभाग धाउनुपर्ने तथा सामान्य त्रुटिका कारण सेवा लिन ढिलाइ हुने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे। कन्सुलर सेवा विभागका अनुसार ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’को मुख्य उद्देश्य सरकारी निकायबाट जारी तथा प्रमाणित कागजातको कन्सुलर प्रमाणीकरण प्रक्रियालाई पूर्ण रूपमा अनलाइन र व्यवस्थित बनाउनु हो। विभागले यस प्रणालीमार्फत सेवा प्रवाहमा पारदर्शिता, प्रभावकारिता र जवाफदेहिता अभिवृद्धि हुनुका साथै सेवाग्राहीले छिटो, सरल र सहज सेवा प्राप्त गर्ने अपेक्षा गरेको छ।