काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले हालै देशमा भएको साम्प्रदायिक तनाव र त्यसक्रममा भएको मानवीय क्षतिबाट सरकारले गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सामान्य प्रकृतिका घटनामा अत्यधिक बल प्रयोग गर्ने तथा नेपाली सेनालाई समेत परिचालन गर्ने प्रवृत्तिले सुरक्षा संयन्त्रमाथिको जनविश्वास कमजोर बन्न सक्ने टिप्पणी गरे। ढुंगानाले साम्प्रदायिक द्वन्द्वका क्रममा भएको घटनाले जेनजी आन्दोलनको सन्दर्भ पनि स्मरण गराएको उल्लेख गर्दै भारतमा भएको जेनजी आन्दोलनको उदाहरण दिए। उनले त्यहाँ ठूलो प्रदर्शन हुँदा पनि न्यून मानवीय क्षति भएको तर नेपालमा सानो साम्प्रदायिक झडपमै गोली चल्दा ज्यान गएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने प्रश्न उठाए।
उनले द्वन्द्व व्यवस्थापनका लागि प्रहरीलाई एसएलआर बोकेर पठाउने र सामान्य घटनामै नेपाली सेनालाई जङ्गी अड्डाबाट परिचालन गर्नु उचित नहुने बताए। यस्ता निर्णयले सेनाको संस्थागत गरिमा र नागरिकमा रहेको विश्वास दीर्घकालीन रूपमा कमजोर हुन सक्ने उनको भनाइ थियो। ढुंगानाले सरकारले द्वन्द्व व्यवस्थापनमा दीर्घकालीन सोच अपनाउनुपर्नेमा जोड दिँदै, सुरक्षा निकायको परिचालन आवश्यकताअनुसार मात्रै हुनुपर्ने धारणा व्यक्त गरे। राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले मधेशका मुद्दा उठाउने नेतामध्ये अमरेश कुमार सिंह निरन्तर सक्रिय रहेको दाबी पनि गरे।