सिन्धुली । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको दुधौली नगरपालिका–९ क्षेत्रबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको मिर्चैयाबाट काठमाडौँतर्फ जाँदै गरेको बा १६ च ७८४६ नम्बरको कारलाई शङ्का लागेर रोकी जाँच गर्दा गियर बक्सभित्र लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा आफूलाई ‘जनजागरण खबर’ का समाचारदाता बताउने सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–२ निवासी २६ वर्षीय उमेस कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर पतारी–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार उमेस कुमार यादवले काठमाडौँस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरेको खुलेको छ।
प्रहरीले घटनास्थलबाट ४४.३४० ग्राम खैरो हेरोइनका साथै चार थान मोबाइल फोन र प्रयोग गरिएको बा १६ च ७८४६ नम्बरको कारसमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीमा बुझाइएको प्रहरी टोलीले जानकारी दिएको छ।