काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १७३ जना सवारी चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा नियम मिच्ने चालकहरूलाई कारबाहीको दायरामा ल्याइएको हो।
प्रहरीले उपलब्ध गराएको विवरणअनुसार, कारबाहीमा पर्नेहरूमा तीव्र गतिमा सवारी चलाउने ९० जना, सीसीटीभीमार्फत अनुगमन गरी कारबाही गरिएका ८० जना र ट्राफिक लाइटको रातो बत्ती उल्लंघन गर्ने ५५ जना रहेका छन्। त्यसैगरी, हर्न निषेध क्षेत्रमा जथाभावी हर्न बजाउने ४१ जना, लेन अनुशासन पालना नगर्ने ४४ जना र एकतर्फी (वान–वे) सडकमा सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको छ।
यसका साथै, सवारी साधनको अवस्था ठिक नभएको पाइएका १८ जना र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६ जना चालकलाई पनि प्रहरीले कारबाही गरेको छ। अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने ८०४ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यकामा सडक दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक प्रहरीले नियमित रूपमा विशेष जाँच अभियान सञ्चालन गर्दै आएको छ।