काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको तराई भूभाग नजिक अवस्थित रहेकाले देशका अधिकांश भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी रेखा नजिकिएकाले आज कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।
पाँच वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी तथा हिमाली भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको समस्या हुन सक्ने र नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन, दैनिक जनजीवन, यातायात तथा निर्माण कार्यमा हुनसक्ने असरप्रति सजग रहन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।