काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको छ । मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो ।
फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतिपछि परराष्ट्रमन्त्री खनालसहित मन्त्रालयका वरिष्ठ अधिकारी तथा अधिकृतहरूले प्रस्तुत कार्यपत्रमाथि आ–आफ्नो धारणा राखेका थिए।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले अनुसन्धानले ज्ञान बढाउने र ज्ञानले नीति निर्माणमा सहयोग पुर्याउने बताए । ‘मोफा नलेज फोरम’ परराष्ट्रमन्त्री तथा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले नेपालको परराष्ट्र नीतिको परिदृश्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलिरहेका अनुसन्धानकर्ता, प्राज्ञ, थिङ्क ट्याङ्क तथा विषयविज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने मासिक कार्यक्रम हो ।
यस कार्यक्रमको मुख्य उद्देश्य प्रमाणमा आधारित बाह्य अनुसन्धान तथा अध्ययनलाई मन्त्रालयको नीतिगत छलफलमा प्रत्यक्ष रूपमा समावेश गर्नु रहेको छ । प्रकाशित अनुसन्धान तथा सामग्रीमा मात्र सीमित नरही सम्बन्धित अनुसन्धान तथा अध्ययन प्रतिवेदन तयार गर्ने व्यक्ति तथा विज्ञहरूसँग मन्त्री र वरिष्ठ अधिकारीहरूले प्रत्यक्ष रूपमा संवाद गर्ने उद्देश्यले फोरम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।
साथै, विभिन्न विषय तथा साझेदारसँग सम्बन्धित नीतिगत कार्यमा मन्त्रालयले आगामी दिनमा समेत उपयोग गर्न सक्ने गरी विज्ञहरूसँगको अन्तरक्रिया तथा संलग्नताको व्यवस्थित अभिलेख तयार गर्नु पनि फोरमको अर्को उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।