पोखरा । कास्कीको प्रसिद्ध पर्यटकीय स्थल मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा पोखराका तीन जना युवा सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ रहेका छन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा नजिकैको बाक्लो जङ्गलमा बाटो बिराएर अलपत्र परेको आशङ्का गरिएको छ।
माछापुच्छ्रे–६ भेडाबारीस्थित अस्थायी प्रहरी पोस्टका अनुसार हाइक्याम्पबाट फर्कने क्रममा उनीहरू जङ्गलमा बाटो भुलेर अलपत्र परेको खबर प्राप्त भएलगत्तै खोजी कार्य सुरु गरिएको हो।
भेडाबारीका प्रहरी हवल्दार जीवन बरालले हराएका तीनै जना युवकको मोबाइल फोन बन्द रहेकाले उनीहरूसँग सम्पर्क हुन नसकेको जानकारी दिए । “सूचना पाउनासाथ बिहानैदेखि नेपाल प्रहरी र स्थानीयको टोलीले जङ्गल क्षेत्रमा खोजी कार्य तीव्र पारेको छ,“ उनले बताए ।
अविरल वर्षा, हुस्सु र कठिन भूगोलका कारण खोजी कार्यमा केही चुनौती थपिए पनि स्थानीय नगष्मभक र प्रहरीको संयुक्त टोलीले खोजी जारी राखेको छ।