काठमाडौँ । होटेल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का तथा चुरोट जस्ता सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूम्रपान तथा हुक्का सेवन कडाइ गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थल र होटेल–रेस्टुरेन्टहरूमा कानुन विपरीत हुने गरी भइरहेका धूम्रपान तथा हुक्का सेवन कार्यलाई कडाइका साथ नियन्त्रण गर्न लागेको हो ।
होटेल तथा रेस्टुरेन्टहरूमा खुला रूपमा हुक्का तथा चुरोट सेवनका कारण धूम्रपान नगर्ने सेवाग्राही तथा अन्य नागरिकको स्वास्थ्यमा असर पुगेको जनगुनासो बढेपछि प्रशासनले यो कदम अगाडि बढाएको हो ।
सूचनाअनुसार अब जिल्लाका सबै होटेल र रेस्टुरेन्टहरूले ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमित गर्ने) ऐन, २०६८’ को पूर्ण पालना गर्नु पर्ने छ ।
होटेल र रेस्टुरेन्टहरूले आफ्ना व्यावसायिक स्थलमा धूम्रपान गर्न मिल्ने र नमिल्ने स्थानहरू स्पष्ट रूपमा छुट्याउनु पर्नेछ । साथै, धूम्रपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट पूर्ण रूपमा बन्द गरी अन्य ग्राहक वा क्षेत्रमा असर नपुग्ने किसिमले व्यवस्थापन गर्नुपर्नेछ । प्रशासन र अन्य तोकिएका निकायले यस विषयमा नियमित अनुगमन गर्नेछन् ।
