काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको कथानक चलचित्र ’झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरी फिल्मबारे विस्तृत जानकारी गराएको हो। टिजरले सुखी परिवारभित्र दुई बुहारीबिच रुखको अंशवण्डालाई लिएर सुरु हुने विवाद र त्यसपछि आउने पारिवारिक उतारचढावको कथा प्रस्तुत गरेको छ।
फिल्ममा रुखको स्वामित्व रहेकी आमाको उपस्थितिबिना अंशवण्डा सम्भव नहुने भएपछि परिवारले आमाको खोजी सुरु गर्छ। तर, आमा रहस्यमय रूपमा हराएपछि पारिवारिक कथा थप जटिल र पेचिलो बन्दै जान्छ। टिजरको अन्त्यतिर अभिनेता आर्यन सिग्देललाई नेलले बाँधिएको दृश्य देखाइएको छ, जसले कथाप्रति थप कौतुहलता जगाएको छ।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मा बुहारीको भूमिकामा देखिनुभएको छ भने महेश त्रिपाठी र कुशल विष्टले दाजुभाइको भूमिका निर्वाह गर्नुभएको छ। यस्तै, हिउँवाला गौतमले आमाको भूमिका निभाउनुभएको छ भने सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी, संगम भण्डारी र विजय देउजालगायतको पनि अभिनय रहेको छ।
कार्यक्रममा बोल्दै निर्देशक ज्ञानेन्द्र देउजाले समाज, पारिवारिक सम्बन्ध र अपेक्षाबाट उत्पन्न हुने द्वन्द्वलाई फिल्ममार्फत कलात्मक रूपमा प्रस्तुत गरिएको बताए । त्यसैगरी अभिनेत्री केकी अधिकारीले पहिलो भागको कथालाई निरन्तरता दिँदै दोस्रो भागमा थप नयाँ र रोचक आयामहरू समेटिएको जानकारी दिनुभयो। अभिनेत्री आँचल शर्माले पहिलो भागलाई दर्शकले दिएको अपार माया र विश्वासकै प्रतिफल स्वरूप ’झिँगेदाउ २’ सम्भव भएको बताईन् ।
विष्णु घिमिरे (कल्पित) को छायाङ्कन रहेको यो चलचित्र कपनगढी सिनेमा प्रालि र फिल्म क्रू नेपालको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो। घरेलु बक्सअफिसमा सफल मानिएको ‘झिँगेदाउ’को यो दोस्रो भाग आगामी असोज २ गते (सेप्टेम्बर १८) देखि देशभरका हलहरूमा प्रदर्शनमा आउनेछ।