काठमाडौँ । भाडा बक्यौता विवादका कारण विगत ११५ दिनदेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको ताला अन्ततः खोलिएको छ। पुस्तकालय पुनः सञ्चालनमा ल्याउने सहमति भएसँगै समाज कल्याण परिषद्ले बुधबार पुस्तकालयमा लगाइएको ताल्चा खोलेको हो।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले भाडा बापतको करिब ३ करोड रुपैयाँ बक्यौता रकम नतिरेको भन्दै समाज कल्याण परिषद्ले गत चैत ३० गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेको थियो।
पुस्तकालय लामो समयसम्म बन्द हुँदा अध्ययनका लागि आउने हजारौँ विद्यार्थी, अनुसन्धानकर्ता तथा आम पाठकहरू प्रत्यक्ष मारमा परेका थिए। ज्ञान र चेतनाको केन्द्रमा ताला लगाइएको भन्दै नागरिक समाज, विद्यार्थी सङ्गठन र पाठकहरूबाट चौतर्फी विरोध तथा ताला खोल्न तीव्र दबाब सिर्जना भएको थियो।
ताला खोलिए तापनि लामो समयदेखि बन्द रहेकाले हाल पुस्तकालयभित्र सरसफाइ, पुस्तकहरूको व्यवस्थापन तथा अन्य आन्तरिक तयारीका कामहरू भइरहेका छन्।
पुस्तकालय प्रशासनका अनुसार सम्पूर्ण व्यवस्थापकीय कार्यहरू पूरा गरी आगामी साउन २५ गतेदेखि पाठकहरूका लागि नियमित रूपमा पठनपाठन र सेवा सञ्चालन गरिनेछ। पुस्तकालय पुनः खुल्ने भएपछि अध्ययनरत विद्यार्थी तथा पुस्तकप्रेमीहरूमा खुसीयाली छाएको छ।