सर्लाही । भारतमा मल खरिद गर्न गएका बेला पक्राउ परेका सर्लाहीका दुई नेपाली नागरिकलाई धरौटीमा रिहा गर्न भारतीय अदालतले आदेश दिएको छ।
सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई बुधबार धरौटीमा छाड्न आदेश भएको परिवारले जनाएको हो। तर आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले उनीहरू बिहीबार मात्रै रिहा हुने भएका छन्।
सुरेशप्रसादका छोरा अविनाश सिंहका अनुसार भारतको आधार कार्ड भएका दुई जना व्यक्तिले साक्षी बसेपछि मात्रै रिहाइ प्रक्रिया पूरा हुनेछ।
दुवै जना गत असार १७ गते भारतको बिहारस्थित सीतामढी जिल्लाको सोनबर्षा क्षेत्रमा पक्राउ परेका थिए। त्यसको भोलिपल्ट उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको थियो।
उनीहरूको रिहाइको माग गर्दै दायर गरिएको निवेदनमाथि साउन १५ गते सुनुवाइ हुने तय भए पनि सम्बन्धित न्यायाधीश बिदामा बसेका कारण सुनुवाइ बुधबार मात्रै भएको हो।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरूलाई डीएपी र युरिया मल लिएर नेपाल फर्किने क्रममा नियन्त्रणमा लिएको जनाएको छ।