काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका ३ वटा सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन् भने ६ वटा सडकखण्डमा आंशिक अवरोध भएको छ।
सडक विभागका अनुसार वर्षाका कारण पहिरो, बाढी र सडक क्षतिग्रस्त हुँदा यातायात प्रभावित बनेको हो। यद्यपि, यसअघि अवरुद्ध भएका २४ वटा सडकखण्ड सामान्य मर्मतपछि पुनः सञ्चालनमा ल्याइएको विभागले जनाएको छ।
नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सडक भासिने घटनाका कारण विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भइरहेको छ। जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको धुलिखेल–सिन्धुली खण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने व्यवस्था कायम राखिएको छ।
त्यस्तै, मकवानपुरस्थित कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा बन्द भएको छ। उक्त सडक प्रयोग गर्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग भने जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो, लेदो र सडक भासिँदा पूर्ण रूपमा अवरुद्ध बनेको छ। त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारमा सामाकोशी नदीले सडक कटान गरेपछि लामोसाँघु–रामेछाप सडक पनि बन्द भएको छ। सो क्षेत्रमा खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।
प्रहरीले वर्षायाममा सडकको अवस्था छिनछिनमै बदलिन सक्ने भएकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।