काठमाडौं । सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका तथा घाइते भएकाहरूलाई क्षतिपूर्ति, राहत र निःशुल्क उपचार उपलब्ध गराउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
सुनसरीको देवानगञ्जमा भएको प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका एक जनाको घटनाकै दिन मृत्यु भएको थियो भने उपचारका क्रममा मंगलबार अर्का एक जनाको पनि ज्यान गएको थियो।
यस्तै, सिरहामा भएको प्रदर्शनका क्रममा पनि एक जनाको मृत्यु भएको थियो।
सरकारले घटनाबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय गरेको जनाएको छ।