दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुनसरीको देवानगञ्ज घटनामा सुरक्षा निकायले बल प्रयोग गर्दा चार जनाको मृत्यु भएको विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले राजनीतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले विगतमा सुरक्षा निकायको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राख्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले अहिले भने दोहोरो मापदण्ड अपनाउन नमिल्ने बताए।
उनले यदि सुरक्षा निकायको कारबाही कानुनअनुसार भएको हो भने विगतमा गरिएको आरोपबारे सार्वजनिक रूपमा स्वीकार गर्दै माफी माग्नुपर्ने, अन्यथा पदबाट राजीनामा दिएर कानुनी प्रक्रिया अघि बढ्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
पोखरेलले शासन सञ्चालनमा एउटै विषयमा फरक–फरक मापदण्ड अपनाउन नहुने उल्लेख गर्दै सुनसरी घटनामा हालसम्म चार जनाको मृत्यु भइसकेको अवस्थामा त्यसको राजनीतिक जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाए।
उनले जेनजी आन्दोलनपछि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको प्रसंग पनि स्मरण गराउँदै त्यसबेला पर्याप्त प्रमाणबिना प्रतिशोधको राजनीति गरिएको दाबी गरे।
त्यसैगरी एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरी लामो समय हिरासतमा राखिएको तर आरोप पुष्टि हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले प्रतिशोधको राजनीति गरिरहेको आरोप पनि उनले लगाए।
पोखरेलले अन्त्यमा सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीले राजनीतिक तथा कानुनी जिम्मेवारी लिने वा नलिने भन्ने विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे।